साउन १ मा ‘गौथली’ रिलिज तय
चलचित्र ‘गौथली’ ले साउन १ गतेलाई प्रदर्शन मिति तय गरेको छ। डा. कपिल रिजालले निर्देशन गरेको चलचित्र दुई दशक अगाडी प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा निर्माण भएको चलचित्र ‘गौथली’ को नाम सापटी चलचित्र हो। कपिल उनै भोलाका छोरा हुन्। उक्त समयमा यो चलचित्रले ५१ दिन मनाउन सफल भएको थियो।

चलचित्रमा नायक अरुण क्षेत्री र सिम्रन खड्काको जोडीलाई पर्दामा देख्न पाइनेछ । दुईको साथमा चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । चलचित्रको ‘गौथली’ को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यतासँग जोडिएको निर्माण पक्षले जनाएको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा रहेका छन् ।



