प्रियंका र वर्षाको ‘टीका’ को शुभमुहर्त


भविष्य फिल्मस् प्राली र थर्ड आइ आर्ट्स को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘टिका’ (TIKA: Stateless Soul) को शुभ मुहूर्त सम्पन्न भएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा बिहिबार आयोजित विशेष कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्कृप्ट पूजा गरियो ।

तीजको अबसरमा आगामी भदौ २६ लाई यसअघि नै प्रदर्शन मिति तोकिसकिएको यो चलचित्र यसै साताबाट फ्लोरमा जाँदैछ ।

कार्यक्रममा बोल्दै निर्माता भविष्य खड्काले सामाजिक रूपमा विभिन्न विभेद खेप्नुपरेको महिलाको गम्भिर कथामा चलचित्र बन्न लागेको बताइन् । पछिल्लो ब्लकवस्टर ‘जेरी अन टप’ निर्माता समेत रहेकी खड्काले उक्त चलचित्रबाट प्राप्त अनुभव, भोगाइ र सिकाइले ‘टिका’ निर्माणमा जुटेको बताइन् । खड्का दशैं रिलिज तोकिएको चलचित्र ‘बाटुलो जुन’को समेत निर्माता हुन् ।

शंकर कार्कीको निर्देशनमा बन्ने ‘टिका’ लाई निर्माण टिमले महिला प्रधान चलचित्र भनेको छ । यो चलचित्रमा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, पार्वती अधिकारी र आयुषी ढकाल प्रमुख अभिनयमा छन् । कार्यकारी निर्माता तेजविक्रम केसी हुन् ।

कार्यक्रममा कलाकारहरूले चलचित्रको विषयवस्तु, टिमको ऊर्जा र आफ्नो भूमिकाबारे धारणा राखेका थिए । अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा सिवाकोटीले यो चलचित्र आफुहरूको करियरकै एक विशेष चलचित्र रहेको बताए ।

‘मेरो जीवनको लागि यो चलचित्र, यो यात्रा र मेरो पात्र सबै विशेष छ, जुन विषयवस्तुमा कथा तयार गरेर यो चलचित्र बन्दैछ सायद आजसम्म प्रस्तुत नगरिएको र नदेखाइएको कथा हो, एकदमै उत्साहित छु’, प्रियंकाले भनिन् ।अभिनेत्री सिवाकोटीले जेरी अन टप निर्मात्री खड्का, सहकर्मीद्वय प्रियंका र महेश त्रिपाठीसँगको सहकार्य सौहार्द र उपलब्धिप्रधान बन्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्