चलचित्र ‘गौँथली’ को पोस्टर सार्वजनिक
डा. कपिल रिजालको निर्देशनमा तयार भएको चलचित्र ‘गौँथली’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । एउटामा नायक र नायिका दुवै अटाएका छन् भने अर्कोमा नायिका मात्रै छिन् ।पोस्टरले चलचित्र ग्रामीण समाजको कथामा बनेको प्रस्ट पार्ने प्रयास गरेको छ । पहिलो पोस्टरमा नायक अरुण क्षेत्री र सिम्रन खड्का फिचर्ड छन् । उनीहरू दुलाहा–दुलहीको भेषमा छन् ।

अर्को पोस्टरमा सिम्रन एक्लै छिन्, जसमा उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन् । खाली खुट्टा रहेकी उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छिन् । तर, उनी पढिरहेकी छन् ।
‘गौँथली’ साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । चलचित्रमा ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता रहेको निर्माण पक्षले जनाएको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।




