नीता र अशोकको ‘पार्वती’ पोष्टर रिलिज


अभिनेत्री नीता ढुंगानाको पहिलो निर्देशकीय चलचित्र ‘पार्वती’ को पहिलो झलक सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरेर चलचित्र पोष्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरहरूले नीतालाई एउटा भिन्न र चुनौतीपूर्ण चरित्रमा उभ्याएको छ । जसमध्य एक पोस्टरमा नीता ढुंगाना स्कुले छात्राको पोसाकमा देखिन्छिन् । जहाँ उनलाई छोटो कपाल घाँटीमा कालो धागो र नीलो फ्रकमा उनी एक सामान्य विद्यार्थीभन्दा केही फरक देखिन्छिन् ।

अर्को पोस्टरमा बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेका छन् । यो तस्बिर आफैँमा एउटा बलियो विम्ब हो । उमेरले सानो भए पनि अशोकको पात्रले नीताको पात्रलाई बोक्नुले चलचित्रमा अशोकको भूमिका एक संरक्षक वा अटुट सहाराको रूपमा रहेको बुझिन्छ । दुवैको अनुहारमा झल्किने उन्मुक्त हाँसोले उनीहरूबीचको सम्बन्धमा कुनै स्वार्थ नभएको र यो एक शुद्ध भावनात्मक कथा भएको पुष्टि गर्छ ।

चलचित्र ‘रक्षाबन्धन’ भदौ १२ मा प्रदर्शन हुने छ । पोस्टरमा दिदी-भाइ जस्तो देखिने सम्बन्धलाई चित्रण गरिनु र रिलिजका लागि रक्षाबन्धन रोजिनुले यो चलचित्र दिदी-भाइको भावनात्मक सम्बन्ध र सामाजिक दायित्वमा केन्द्रित हुने देखिन्छ ।
कथा, पटकथा, निर्देशन र मुख्य भूमिका आफैँले सम्हाल्नुले उनले यो चलचित्रलाई एउटा ‘ड्रिम प्रोजेक्ट’ को रूपमा लिएको बुझिन्छ ।

यस चलचित्रमा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय छ । नीता ढुंगाना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रका निर्माता हरिहर अधिकारी हुन् । यस चलचित्रमा प्रोडक्सनको काम शंकर पाण्डेले हेर्दैछन् । चलचित्रमा उनी नै कार्यकारी निर्माता पनि छन् ।

प्रतिक्रिया दिनुहोस्