चलचित्र ‘रोल नं १’ को गीत ‘मेरो लागि तिमी’ सार्वजनिक
चलचित्र ‘रोल नं १’ को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सन्तानका लागि आमा–बुबा र आमा–बुबाका लागि सन्तान कति महत्वपूर्ण छन् भन्ने देखाएको छ । सन्तानको खुुसी र उज्वल भविष्यका लागि जस्तो सुकै हन्डर र दुःख सहन तयार अभिभावकलाई केन्द्रमा राखेर तयार भएको गीतले चलचित्रले दर्शकलाई के देखाउँदैछ भनेर प्रस्ट संकेत गरेको छ ।

विनोद पौडेलको निर्माण रहेको चलचित्र जेठ १५ गते प्रदर्शनमा आउँदै छ । चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो चलचित्रमा समेटेको बताइएको छ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ ।




