सकियो ‘पाँच पाण्डव’ को छायांकन, तिहारमा रिलिज तयारी


बसन्त निरौलाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘पाँच पाण्डव’ को छायांकन सम्पन्न भएको छ। चैत्र २ गतेबाट सुरु भएको चलचित्रको छायांकन ६६ दिनमा सकिएको निर्देशक निरौलाले जानकारी दिए। “चैत २ गतेबाट सुरु भएको छायांकन हामीले ६६ दिन लगाएर सक्यौँ,” निर्देशक वसन्त निरौलाले भने, “यो चलचित्रको छायांकनमा हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ, जुन चलचित्रमा पनि देखिनेछ ।”

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् । चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिने छन् । यस्तै दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी लगायतको पनि अभिनय रहेको छ ।

चलचित्र ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले बताएका छन्। उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ । प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

चलचित्रको निर्माणमा काली रानी श्रेष्ठ छिन् । कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्र तिहारमा रिलिजको तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्