निर्देशक नवीन सुब्बाले चलचित्र ‘मितज्यू’ हेरेर गरे प्रशंसा


निर्देशक नवीन सुब्बाले चलचित्र ‘मितज्यू’ले विभिन्न लेयरमा समाजका भिन्न भिन्न पक्षलाई उजागर गरेको बताएका छन् । राजनीतिक, सामाजिक, आर्थिक तथा पारिवारिक पक्षलाई एकसाथ ‘मितज्यू’ले देखाएको उनको भनाइ छ ।

‘मितज्यू’ले गरेको राजनीतिक प्रेडिक अहिलेको नेपाली राजनीतिसँग मेल खाएको उनको तर्क छ । “पुराना पार्टी समाप्त भएको र नयाँ सोच आएको कुरा चलचित्रले लाक्षणिक रुपमा देखाएको छ,” उनले भने, “चरित्र निर्माण गर्दाखेरि नै यो कुरा लिएर आएको छ ।”

नेपाली चलचित्रले पहिलोपटक यसरी बोलेको आफूलाई महसुस भएको उनले बताए । पोलिटिकल इभेन्टलाई स्टोरीमा ढालेर चरित्रमार्फत सिम्बोलिक रुपमा राम्रोसँग उतार्ने काम भएको उनको भनाइ छ ।

नयाँ कलाकार भए पनि तेरियाले राम्रो काम गरेको भन्दै नवीनले प्रशंसा गरे । उनको डेब्यु चलचित्र जस्तो नलाग्ने उनको भनाइ छ । सौगात मल्ल र दयाहाङ राईसँगसँगै खारिएको काम देखाएको र यो चलचित्र ‘मितज्यू’को अर्को उपलब्धी भएको उनले बताए । आवरण र इमोसनमा दयाहाङ र सौगातले पनि गज्जवको काम गरेको नवीनको भनाइ छ ।

“यो चलचित्रले धेरै च्यालेन्ज गरेको छ । हामीमा परिवारको जे कन्सेप्ट छ, त्यसलाई नै प्रश्न गरेको छ । यो लोकल स्टोरी उठाएर धेरै कुरा गरेको छ, भर्खरै खुलेको बाटो र जीपको कुरा छ,” उनले भने, “रोल्पा र रुकुमबाट अलि अगाडि बढेर समग्र नेपाली समाजको थर्ट प्रोसेसमाथि नै प्रश्न गर्छ । यो मलाई गज्जब लाग्यो ।” यस्ता चलचित्र बन्नु पर्ने र धेरैले माया गर्नुपर्नेमा उनको जोड छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर मुख्य भूमिका छन् । यो चलचित्रमा सौगात, दयाहाङ र तेरियासँगै खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘मितज्यू’का लगानीकर्ता जनक घर्तीमगर हुन् । यो चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्