विजय वरालको ‘जिरो डिग्री’ को पहिलो झलक सार्वजनिक (भिडियो)


डार्क कमेडी जनरामा निर्माण भएको चलचित्र ‘जिरो डिग्री’ को पहिलो झलक (भिडियो) सार्वजनिक भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शन मिति तिहारलाई तय गर्दै पहिलो झलक सार्वजनिक गरिएको हो। पहिलो झलकमा चलचित्रका मुख्य अभिनेता विजय बराललाई ‘पुन्य चौलागाईँ’ नामक वडा अध्यक्ष भुमिकामा प्रस्तुत गरिएको छ। उनको भुमिका फरक र रोचक देखिएको छ।

फर्स्ट लुक भिडियोमा पृष्ठभूमिबाट गुन्जिने “जहाँ समस्या त्यहाँ पुन्य चौलागाईँ” भन्ने संवाद र लगत्तै पुन्यको “यो गाउँमा बाहेक अरु को नै छ र मेरो आफ्नो” भन्ने संवादले उनी गाउँको एक चलाख र चतुर जनप्रतिनिधि हुन् भन्ने प्रस्ट पार्छ। बाक्लो जुँगा, चस्मा, ढाका टोपी र सुटमा सजिएका विजय बरालको एउटा दृश्य निकै प्रतीकात्मक र व्यङ्ग्यात्मक छ। ‘पुन्य चौलागाई वडा अध्यक्ष’ लेखिएको नेमप्लेट अगाडि बसेर उनले पैसा बुझिरहेका (लेनदेन गरिरहेका) छन्, तर विडम्बना नै मान्नुपर्छ, उनको पछाडि भित्तामा टाँसिएको बोर्डमा भने ठुला अक्षरले ‘भ्रष्टाचारलाई रोकौँ !’ लेखिएको छ। यसले चलचित्रमा नेपाली राजनीतिको यथार्थ र नेताहरूको दोहोरो चरित्रलाई डार्क कमेडीको माध्यमबाट कसिलो व्यङ्ग्य प्रहार गरिएको सङ्केत गर्छ। यसका साथै, वडा अध्यक्ष पुन्य चौलागाईँ सेतो घोडामा चढेर हातमा दुईवटा स्ट्यान्ड फ्यान बोकेर हिँडिरहेको र गाउँलेहरूले पहाडी बाटोमा एउटा ठुलो काठको बाकस बोकेर हिँडिरहेको दृश्यले कथाको गहिराइलाई थप रहस्यमयी बनाएको छ।

चलचित्रको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा केन्द्रित छ। सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन एवं पटकथा चलचित्रमा रहेको छ।

चलचित्रमा विजय बरालका साथै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली लगायतका कलाकारहरूको अभिनय रहेको छ। मोती कार्की कार्यकारी निर्माता रहेको छन्।

प्रतिक्रिया दिनुहोस्