अरुण र सिम्रनको बिहेको कथामा ‘गौंथली’ गीत


चलचित्र ‘गौँथली’ को गीत ‘आँखा भरी आँसु’ सार्वजनिक भएको छ। गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर, शब्द डा. भोला रिजाल र संगीत गायक थानेश्वर स्वयंको छ । गीतको रिलिज कार्यक्रम निकै भव्य र फरक शैलीमा तयार पारिएको थियो। बिहेको सेटअपमा सजिएको विग मुभिजमा चलचित्रका मुख्य नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का बेहुला बेहुलीको भेषमा आएका थिए। पन्चेबाजाको धुनमा केही अतिथिहरू जन्तीको भेषमा औपचारिक गेटअपमा पुगेका थिए, जो बेहुला र बेहुलीको अगाडि र पछाडि लागेर नाच्दै हिँडिरहेका थिए ।

गीतीको भिडियोमा चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का लगायत छन् । गीतले माइतीघर छोडेर पराइ घर जानु पर्दाको दुखद् क्षण समेटेको छ । आफू जन्मे हुर्केको घर, गाउँ, आमा, बुवा तथा आफन्तलाई चटक्क छोडेर विवाह गरेर अर्कैको घर जाँदाको वियोग गीतमा उल्लेख छ ।

कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदै छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्