‘राष्ट्रिय चलचित्र पुरस्कार’ : निर शाह र मिरुना मगर उत्कृष्ट


नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सम्पन्न भएको छ। चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले हरेक बर्ष आयोजन गर्ने यो अवार्डमा यस पटक चलचित्र ‘उनको स्विटर’ सर्वाधिक विधामा पुरष्कृत भएको छ। राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर अवार्ड वितरण गरिएको थियो।


यो बर्ष चलचित्र ‘परान’ बाट बरिष्ठ अभिनेता निर शाहले सर्वोत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने मिरुना मगरले ‘उनको स्विटर’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्। त्यस्तै उनको स्विटर सर्वोत्कृष्ट चलचित्रको रुपमा पुरष्कृत हुँदा नविन चौहानले निर्देशन तर्फ अवार्ड हात पारे।

दीपक प्रसाद आचार्य र यम थापाले चलचित्र ‘परान’ बाट उत्कृष्ट लेखकको अवार्ड हात पर्दा ‘कोशेढुङ्गा’बाट पदम बहादुर श्रेष्ठले छायांकनतर्फ र सोहि चलचित्रबाट नहकुल खड्काले सम्पादन तर्फ अवार्ड जिते।
निर्णायक समिति प्रोत्साहन पुरस्कार भने ‘रमिताको पिरती’बाट आना शर्मा र ‘झरीपछिको इन्द्रेणी’बाट विमोचन दवाडीलाई प्रदान गरियो ।

कार्यक्रममा ३ लाख ७५ हजार राशीसहितको दीर्घ साधना सम्मान कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको थियो ।
सो अवसरमा बोर्डले ११ जनालाई विशेष सम्मान पनि प्रदान गर्‍यो । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष स्व. दिनेश सिटौलालाई ५० हजार रुपैयाँ राशीसहित मरणोपरान्त सम्मान गरियो भने विष्णु गोपाल श्रेष्ठ, मेनुका प्रधान, डा. सिंह गुरुङ, प्रकाश सुवेदी, अभिनाश विक्रम शाह, रोहित रुम्बा, एन्जिला तुम्बापो सुब्बा, लक्ष्मी बर्देवा, विनोद शेरचन र शङ्कर पाण्डे पनि सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस्