मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने, महेश र केकी प्रमुख भूमिकामा
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आरोह अवरोहको कथा धेरै रहेका छन्। गायन, अभिनय, चलचित्र, रंगमंच, स्टेज हरेक क्षेत्रमा आफुलाई अब्बल स्थापित गरेका श्रेष्ठ नेपाली कला क्षेत्रका अत्यन्तै सम्मानित नाम हुन्। उनै श्रेष्ठको जीवनीमा आधारित रहेर बायोपिक चलचित्र निर्माण हुने भएको छ। ‘मदनकृष्ण’ नाम राखिएको चलचित्रको औपचारिक घोषणा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका छन्।
मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर ‘मदनकृष्ण’ निर्माण हुनेछ ।

बायोपिक ‘मदनकृष्ण’ लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । मिलन चाम्स बायोपिक निर्माणमा अब्बल निर्देशक मानिन्छन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो । यो चलचित्र बक्सअफिसमा सुपरहिट भएको थियो । समीक्षात्मक रुपमा पनि सफल भएको थियो ।
नेपाली अभिनेताको बायोपिक बन्न लागेको यो पहिलोपटक हो । अन्य क्षेत्रका व्यक्तिको बायोपिक बने पनि नेपाली अभिनेताको बायोपिक भने हालसम्म बनेको थिएन । समग्र कलाकारमा भने गायक भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ बनेको थियो ।

मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।
यो चलचित्रमा मदनकृष्णको कलाकारिताका पार्टनर हरिवंशको भूमिका कसले निर्वाह गर्नेछन्, यो भने कौतुहलताको विषय छ ।
कार्यक्रममा ७६ वर्षिय वरिष्ठ कलाकार मदनकृष्णले आफूमाथि बन्न लागेको बायोपिक चलचित्रलाई लिएर खुसी व्यक्त गरे । ‘म एकदमै खुसी छु । दर्शकले मेरो जीवनबारे अझै नजिकबाट बुझ्न पाउनुहुनेछ’ उनले भने । साथै, उनले आफ्नो सफलतामा हरिवंश आचार्यको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

त्यसैगरी वरिष्ठ कलाकार हरिवंश आचार्यले मदनकृष्णको बायोपिक निर्माण हुनु आफ्नो लागि पनि गर्वको विषय भएको बताए । उनले निर्देशक मिलन चाम्सलाई नेपाली चलचित्र क्षेत्रका साहसी र ऊर्जाशील निर्देशकको रूपमा चित्रित गर्दै चलचित्रले न्यायपूर्ण ढंगले कथा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति ‘मदनकृष्ण’ लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन् । पदम बहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन रहेका छन् ।




