पहिलो हिटको पर्खाइमा दिव्या रायमाझी, के ‘बेहुली’ बन्ला संजीवनी बुटी ?
नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेदेखि नै अभिनेत्री दिव्या रायमाझी चर्चाको केन्द्रमा छिन्। अभिनेता दिलीप रायमाझीकी छोरी भएकै कारण सुरुदेखि नै चर्चामा रहेकी दिव्याले प्रदीप खड्कासँग चलचित्र ‘एक्टर टेक वान’ बाट डेब्यु गरेपछि उनको चर्चा झन् बढ्यो। चलचित्र रिलिजअघि नै प्रदीप र दिव्याको केमिस्ट्री दर्शकले रुचाए पनि क्षेत्रमाले बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेन।

त्यसपछि दिव्या पुनः प्रदीपकै जोडीका रूपमा चलचित्र ‘पिताम्बर’ मा देखिइन्। ठूलो स्केलमा बनेको मल्टिस्टारर चलचित्र चर्चामा रहे पनि महँगो लगानीका कारण व्यावसायिक रूपमा उल्लेखनीय सफलता पाउन सकेन। तेस्रो चलचित्र ‘राम नाम सत्य’ बाट पनि दिव्याले हिटको स्वाद चाख्न पाइनन्।
हालसम्म दिव्याले अभिनय गरेका तीनै चलचित्र बहुप्रतिक्षित रहे तापनि कुनै पनि क्षेत्रमाले बक्स अफिसमा ठूलो कमाल गर्न सकेका छैनन्। उनले विराज भट्ट, सौगात मल्ल र दयाहाङ राईजस्ता स्थापित कलाकारहरूसँग काम गरिसकेकी छन्, तर व्यक्तिगत रूपमा भने उनको हिटको पर्खाइ अझै जारी छ।
यहीबीच, दिव्या अभिनीत नयाँ चलचित्र ‘बेहुली’ रिलिजको तयारीमा छ। निर्देशक सशान कंडेलको निर्देशनमा बनेको यस चलचित्रमा उनको जोडीका रूपमा पारस बम ठकुरी रहेका छन्। ‘होस्टेल ३’ को सफल टिमका अधिकांश सदस्य आबद्ध रहेको यो चलचित्रलाई पनि दर्शकले चासोका साथ हेरेका छन्। क्षेत्रमा भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
लगातार तीन चलचित्रबाट अपेक्षित सफलता नपाएकी दिव्याका लागि ‘बेहुली’ निकै महत्वपूर्ण बन्न सक्ने देखिन्छ। यो चलचित्र हिट हुनुपर्ने दबाब दिव्यालाई रहेको छ। अब बक्स अफिसमा दिव्याको लागी ‘बेहुली’ संजीवनी बुटी बनेर आउने हो या हैन त्यो भने भदौ १२ पछि थाह होला।




