चलचित्र ‘हन्टर’ को प्रदर्शन मिति तय
चलचित्र ‘हन्टर’ को प्रदर्शन मिति तय गरिएको छ। जीवन सिंहको लेखन तथा निर्देशन रहेको चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै असोज ९ गतेबाट प्रदर्शन तय गरिएको हो।

प्रदर्शन मितिसँगै सार्वजनिक गरिएको पोस्टरले चलचित्रको कथावस्तुबारे खुलासा गर्ने कोसिस गरेको छ। ट्राइडेन्ट कन्सेप्टले तयार पारेको पोस्टरमा दुई मुख्य पात्रहरू अरुण क्षेत्री र प्रकाश शाहलाई आमनेसामने देखाइएको छ । प्रकाश शाहको आँखामा देखिने तीखो आक्रोश र अरुण क्षेत्रीको अनुहारमा झल्कने प्रतिशोधको भावले चलचित्रमा यी दुई पात्रबीच टक्कर हुने संकेत गर्छ ।
पोस्टरको तल्लो भागमा भने माथिल्लो भागको उग्रताभन्दा बिल्कुलै फरक दृश्य छ । जहाँ अभिनेता अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मालाई शान्त र रोमान्टिक मुडमा देखाइएको छ ।
‘हन्टर’ को निर्माणमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य छ । ममता सिंह, गोविन्द राज र राज ए भट्ट निर्माता रहेको चलचित्रका सह-निर्माता मनिष चन्द, युना शाही, सन्तोष आस्ना पाल छन् । यो चलचित्रका कार्यकारी निर्माता रोयल भीमसेन (भीमसेन शाही) हुन् ।
चलचित्रमा अरुण, प्रकाश र सुप्रज्ञाका साथमा गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्माल, लालबहादुर थापा लगायतको अभिनय रहेको छ ।




