दया र गौमायाको ‘पेन्सन पट्टा’ पोष्टरमा के छ ?
माओत्से गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘पेन्सन पट्टा’ को पहिलो झलक सार्वजनिक भएको छ। भदौ २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको पहिलो झलक निर्माण टिमले आज सार्वजनिक गरेको हो। तीनवटा फरक शैलीका पोष्टर निर्माण टिमले सार्वजनिक गरेको हो । पोष्टरले चलचित्रको कथावस्तु, पात्रहरुको यात्रा र ग्रामीण परिवेशलाई प्रस्तुत गरेको छ । एक पोष्टरमा दयाहाङ राई र गौमाया गुरुङ प्रस्तुत रहेका छन्। गौमायाको काखमा रहेको पाठो र दयाहाङको भावपूर्ण अभिव्यक्तिले सरल ग्रामीण जीवन, आत्मीयता र मानवीय संवेदनालाई संकेत गर्छ ।

अर्को पोस्टरमा दुवै कलाकार हात समातेर झरनाको बाटो हुँदै यात्रा गरिरहेका देखिन्छन् । डोको बोकेकी गौमाया र भारीसहित अघि बढिरहेका दयाहाङको दृश्यले संघर्ष, प्रेम, सहयात्रा र जिम्मेवारीपूर्ण जीवनको अनुभूति गराउँछ ।
त्यस्तै अर्को पोष्टरमा दया सैनिक पोसाकमा प्रस्तुत छन् भने गौमाया परम्परागत गुरुङ पहिरनमा देखिएकी छन्। पृष्ठभूमिमा रहेका युवा पात्रहरूको उपस्थितिले प्रेम, प्रतीक्षा, परिवार र पुस्तान्तरणको कथालाई संकेत गरेको छ ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधर लगायत कलाकारको अभिनय रहेको छ ।
कथा तथा निर्देशन माओत्से गुरुङकै रहेको चलचित्रको छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउन्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन् । मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ निर्माता रहेका छन्।




