‘बेहुली’ पोष्टर: हतकडी लगाएका पारसको अँगालोमा दिव्या
चलचित्र ‘बेहुली’ ले आफ्नो रिलिज मिति हेरफेर गर्दै पहिलो झलक सार्वजनिक गरेको छ। कन्नड चलचित्र ‘टक्सिक’ भदौ १० मा आउने भएपछि नेपाली चलचित्रको रिलिज क्यालेन्डर प्रभावित भएको हो। भदौ १२ गतेलाई रिलिज मिति तय गरेको चलचित्र अव भदौ २६ मा पुगेको हो। द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझीलाई प्रस्तुत गरिएको छ।

अभिनेता पारस बम ठकुरी (कुलब्वाय) को अनुहारमा गम्भीर भाव र सामान्य चोट देखिन्छ भने उनको नाडीमा हतकडी झुन्डिएको छ। रातो रङ्कको आकर्षक विवाह पहिरन र गहनामा सजिएकी दिव्या रायमाझीले आँखा चिम्लिएर शान्त मुद्रामा पारसको छातीमा टाउको अडेसाएकी छन्।
आगामी हरितालिका तीजको अवसर पारेर चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्रको काठमाडौंमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो। श्रीधर पौडेलले खिचेको यो तस्बिरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टरको रूप दिएका हुन्।

सशांन कंडेलको निर्देशनमा तयार भएको चलचित्रलाई माधव शर्माले लेखेका छन्। सुदिप कुंवर चलचित्रको मुख्य सहायक निर्देशक हुन्।
चलचित्रमा पारस र दिव्याको साथमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा लगायतका कलाकारको अभिनय रहेको छ। चर्चित सङ्गीतकार अर्जुन पोखरेलले निर्माण गरेको चलचित्रमा प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् भने कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।




