रेखा थापाको चलचित्र ‘माया भनेको यस्तो होला’ को नयाँ पोष्टर सार्वजनिक
रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेको यस्तो होला’ को नयाँ पोष्टर सार्वजनिक भएको छ। चलचित्रका मुख्य कलाकार समावेश पोष्टरको केन्द्रमा चलचित्रका नायक दिल श्रेष्ठ रहेका छन्। हल्दी डे मनाइहरेको पोष्टरमा दिलको साथमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ छन् । विवाहपूर्व मनाइने हल्दी डेमा सवैको मुहारमा खुसि देखिएको छ। हल्दी डेका लागि सजाइएको झकिझकाउ स्पेस र उपस्थितहरूको पहिरनले खानदानी परिवारको छोराको बिहे भइरहेको प्रस्ट पारेको छ । नम्रताको हातमा बधाइका लागि हुनेवाला दुलाहालाई दिन ल्याएको बुके छ ।

मदनकृष्ण भने ह्विलचेयरमा छन् । यसले उनी शारीरिक रूपमा अशक्त रहेको देखाउँछ । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ ।
चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् । ध्रुव लम्सालको पटकथा लेखन रहेको चलचित्र भदौ २६ गतेबाट रिलिज हुँदैछ।




