जब डोकोमा घाँस बोकेर सहर डुलिन् सिम्रन


रिलिज मिति नजिकिदै गर्दा चलचित्र ‘गौँथली’ टिमले दर्शकसंग प्रत्यक्ष भेटेर नै चलचित्रको प्रमोशन गरेको छ। काठमाडौैंका व्यस्त स्थानमा चलचित्रकी मुख्य अभिनेत्री सिम्रन खड्का आफ्नो क्यारेक्टर लुक्समा नै प्रस्तुत भएकी छिन्। व्यस्त सडक, हजारौँको भीड अनि त्यही भीडको माझमा एक सुन्दरी युवती डोकोमा घाँस बोकेर हिँडिरहेकी थिइन् । यसले भीडको ध्यान खिचिरहेको थियो। चलचित्र ‘गौँथली’को शीर्ष भूमिकामा रहेकी सिम्रन आफ्नो चलचित्रको प्रचारका लागि शनिबार डोकोमा घाँस बोकेर काठमाडौं र ललितपुरका सडक–सडक पुगिन् । काठमाडौंको वसन्तपुर र ललितपुरको पाटन क्षेत्रमा डोको बोकेर पुगेकी सिम्रनले दुई हजारभन्दा धेरै दर्शकलाई भेटेर ‘गौँथली’ हेर्न आग्रह गरिन् ।

“हामीले नयाँ तरिकाबाट दर्शकमाझ पुगेर चलचित्र हेर्न आग्रह गर्यौं । धेरैले हाम्रा अन्तर्वार्ता र ट्रेलर हेरेर चलचित्र हेर्ने निर्णय गरिसकेको बताउनु भयो,” सिम्रनले भनिन्। प्रत्यक्ष भेटेर दर्शकलाई चलचित्र हेर्न निम्तो दिँदा रमाइलो अनुभव गरेको र दर्शकले हामी चलचित्र हेर्न जान्छौँ भन्दा आत्मविश्वास बढेको उनले बताइन् । कपिल रिजालले निर्देशनमा तयार भएको चलचित्र साउन १ गतेबाट रिलिज हुँदैछ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् । डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्