‘गौँथली’ लाई दर्शकको सकारात्मक प्रतिक्रिया


साउन १ गते शुक्रबारबाट रिलिज भएको चलचित्र ‘गौँथली’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। रिलिज अगावै देखि चर्चा पाइरहेको चलचित्रले हलमा पनि सोहि अनुसार दर्शक बटुलिरहेको छ। पहिलो दिनको सकारात्मक वर्ड अफ माउथको कारण चलचित्रले दर्शक अकुपेन्सी बढाएको छ। यसको प्रभाव हलमा पनि देखिएको छ। हलहरुले चलचित्रको शो संख्या थपेका छन्।

शुक्रबारको तुलनामा शनिबार यो चलचित्रले धेरै शो पाएको छ । शुक्रबारको अकुपेन्सी र शनिबारको अग्रिम बुकिङ देखेर हलहरूले शो थपेका हुन् ।

हलका दर्शकको संख्या उच्च भएपछि कलाकार अरुण क्षेत्री, सिम्रन खड्का, लुनिभा तुलाधर लगायतका कलाकार दर्शक भेट्न र प्रतिक्रिया बुझ्न हलमा पुगेका छन् ।

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्