चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ मा सन्तोष अनुबन्ध


पछिल्लो समय एकपछि अर्को चलचित्रमा काम गरिरहेका सन्तोष बानियाँ नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ मा अनुबन्ध भएका छन्। ‘होस्टेल ३’, ‘गोबर गणेश’ , ‘ कस्तुरी’ लगायतका चलचित्रमा काम गरिसकेका बानियाँसंगै यो चलचित्रमा रियान गिरि पनि प्रमुख भुमिकामा रहेका छन् । रियान र सन्तोष दुवैले ‘होस्टेल ३’ चलचित्रबाट डेव्यु गरेका थिए। युवापुस्ताको मनोविज्ञान र समसामयिक कथामा निर्माण हुने चलचित्रलाई बलिराम चौहानले निर्देशन गर्नेछन्।

यसअघिका चलचित्रहरूमा सहयोगी भूमिकामा देखिँदै आएका सन्तोषलाई यसपटक भने निर्देशक चौहानले ‘लिडिङ क्यारेक्टर’को रूपमा प्रस्तुत गर्न लागेका हुन् । बानियाँको अभिनय क्षमता र चरित्रमा भिज्न सक्ने खुबीका कारण उनलाई मुख्य भूमिकामा छनोट गरिएको निर्माण पक्षको दाबी छ ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । चलचित्रको कथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन् ।

निर्देशक चौहान भन्छन्, “अहिले हामी कलाकार र प्राविधिक टिमलाई पूर्णता दिने क्रममा छौँ । केही स्थापित र केही प्रतिभावान नयाँ अनुहारहरूसँग कुरा भइरहेको छ । छिट्टै हामी सम्पूर्ण टिमको औपचारिक घोषणा गरेर छायांकनमा निस्कनेछौँ ।”

प्रतिक्रिया दिनुहोस्