वास्तविक कथामा आधारित ‘हली’ को ट्रेलर सार्वजनिक


साउन २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हली’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरेको ट्रेलरले बाबुछोरीको सम्बन्धको साथमा छाउप्रथाको कथा समेत बोलेको छ। महिनावारी हुँदा २१ दिनसम्म बुबाको मुख हेर्न नहुने, पढाईमा अवरोध पुगेका लगायतका दृश्यले सामाजिक कथालाई चलचित्रमा समावेश गरेको स्पष्ट देखिन्छ। वास्तविक कथामा आधारित भएर निर्माण गरिएको चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन रहेको छ।

पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको चलचित्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की,सरोज खनाल,अरुणा कार्की, अर्जुन गुरुङ,नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ। साथै,स्वयम् निर्देशक ओम प्रतीकले पनि मुख्य भूमिकामा छ।

यस फिल्मको एउटा प्रमोसनल गीतमा अभिनेत्री दीपाश्री निरौला,पूजा शर्मादेखि मिथिला शर्मासम्मले अभिनय गरेका छन्। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्।

प्रतिक्रिया दिनुहोस्