चलचित्र ‘माया भनेकै यस्तो होला’ को शीर्ष गीत सार्वजनिक
भदौ २६ गतेबाट प्रदर्शन हुने चलचित्र ‘माया भनेकै यस्तो होला’ को शीर्ष गीत सार्वजनिक भएको छ । प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको स्वर छ । एकै नजरमा बसेको प्रेम र त्यसपछिको परिकल्पना गीतमा समेटिएको छ । गीतले त्रिकोणात्मक प्रेम देखाइएको छ । एक युवकको तीन युवतीसँग प्रेम गीतमै देखाइएको छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दील श्रेष्ठ, सृष्ठि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह लगायत छन् ।

यो चलचित्रलाई रेखा थापाले निर्देशन गरेकी छन् । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ ।
ध्रुव लम्सालको स्क्रिप्ट रहेको चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्नेछ । चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् ।





