अनमोल र सुहानाको ‘ए मेरो हजुर ५’ छायांकनमा जादै
झरना थापाको निर्देशनमा हुने चलचित्र ‘ए मेरो हजुर ५’ को छायांकन साउन २९ गतेबाट सुरु हुने भएको छ। चलचित्रको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट सुरु गर्न लागेको उनले बताएकी छन् ।

देश निर्वाचनमा रहेको बेला अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहले बडिमालिकाको प्रसंसा गर्दै यसको चर्चा अझ उचाईमा पुर्याएका थिए। झरनाले आफ्ना चलचित्रका मुख्य दुई कलाकार अनमोल केसी र सुहाना थापासंगको तस्विर प्रधानमन्त्री बालेनसंग शेयर गर्दै चलचित्रको बारेमा जानकारी गराएकी हुन्। बडीमालिकाको चर्चा गर्दै उनले लेखेकी छन्, ‘नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ सिनेमा ए मेरो हजुर ५ को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ ।’
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई सुनिल कुमार थापा निर्माताको रुपमा रहेका छन्। संजय लामाले खिच्ने चलचित्रको बारेमा अन्य जानकारी निर्माण टिमले सार्वजनिक गरेको छैन।
अनमोल र सुहानाको यो सिरिजको तेश्रो सहकार्य हो। समग्रमा झरनाको निर्देशनमा चलचित्रको यो चौथो सिरिज हो। स्व शिव रेग्मीले चलचित्रको पहिलो शृंखलालाई निर्देशन गरेका थिए। यसमा श्रीकृष्ण श्रेष्ठ र झरना थापा प्रमुख भूमिकामा रहेका थिए।





