चलचित्र ‘झिँगेदाउ २’ को टिजरलाई दर्शकले रुचाए
चलचित्र ‘झिँगेदाउ २’ को टिजरलाई दर्शकले रुचाएका छन्। बुधबार रिलिज भएको टिजरले दर्शकको मन जितिरहेको छ। जेठानी देउरानीको झगडा, पारिवारिक कथा र कलाकारको अभिनयलाई दर्शकले खुलेर प्रसंशा गरेका छन्। १ मिनेट ५१ सेकेन्डको टिजरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी र जेठानीबीचको घर झगडाले स्थान पाएको छ । टिजरको सुरुमै हिउँवाला गौतम मध्यरातमा घर छोडेर हिँडेको देखाइएको छ र पछि परिवारका सदस्यहरू तिनै आमाको खोजीमा लागेको देखिन्छ ।

निर्माण टिमले टिजरमा पहिलो भागकै झल्को दिने कथावस्तु तयार पारेको प्रष्ट हुन्छ । जसमा केही नयाँ ‘ट्वीस्ट’ पनि छ, जुन आर्यन सिग्देलको लुक्सले कौतुहलता थपेको छ । उनी साङ्लो बेरिएको अवस्थामा देखिएका छन् । जसले कथामा नयाँ मोड प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ ।
‘झिँगेदाउ’ को सिक्वेलमा आँचल शर्मा र केकी अधिकारी देउरानी जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल बिष्ट दाजुभाइको भूमिकामा देखिएका छन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र असोज २ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा, नरेन्द्र थापा लगायतका कलाकारको अभिनय रहेको छ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको छ।
चलचित्रमा परिच्छेद सेनको पटकथा तथा संवाद, गोविन्द फुयाल र शिशिर चालिसेको लेखन, विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ ।





