विजय र पूजाले सुरु गरे ‘रत्यौली’को छायांकन


मुस्कान ढकालको निर्देशनमा तयार हुने चलचित्र ‘रत्यौली’ को छायांकन सुरु भएको छ। पशुपति क्षेत्रमा आज पूजा गर्दै चलचित्रको औपचारिक छायांकन सुरु गरिएको हो। एक महिनाको सेड्युल रहेको चलचित्रको २ दिन काठमाडौंमा छायांकन गरेर टिम दोलखाको जिरी जानेछ।
जिरीमा एक महिना चलचित्रको छायांकन हुने निर्माणपक्षले जानकारी दिएको छ ।

नाइटेङ्गल इन्टरटेनमेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण हुने चलचित्रमा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती, कल्पना थापा लगायतका कलाकारहरुको अभिनय रहनेछ । नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रका निर्माता सुरज आचार्य हुन् । नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई मुख्य केन्द्रमा राखेर तयार हुन लागेको चलचित्र फागुन २१ गतेबाट रिलिज हुने निर्माण टिमले घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्