‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को आवेदन खुला, विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने
क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी) को आयोजनामा राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ आयोजना हुने भएको छ । प्रतियोगिताका लागि आवेदनसमेत खुला गरिएको आयोजक संस्थाले जनाएको छ ।
आयोजक संस्थाकी प्रमुख सुचिता सचीका अनुसार फेसन, सौन्दर्य, व्यक्तित्व, नेतृत्व क्षमता तथा प्रतिभालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको प्रतियोगिताले नेपाली युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ ।

प्रमुख सुचिता सचीका अनुसार यो प्रतियोगिताका विभिन्न गतिविधिहरु सेप्टेम्बर ११ देखि नोभेम्बर २८, २०२६ (भदौ २५ देखि मंसिर १२, २०८३) सम्म विभिन्न चरणमा सञ्चालन हुनेछ । प्रतियोगितामा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागी हुनका लागि न्यूनतम १५५ सेन्टिमिटर (५ फिट १ इन्च) उचाइ तोकिएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले एक हजार रुपैयाँ आवेदन शुल्क बुझाउनु पर्नेछ । आवेदन तथा प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक संस्था सिआईएफटीका प्रतिनिधि माधुरी कर्णलाई सम्पर्क गर्न सकिने छ ।
यो प्रतियोगिताका लागि आवेदन फाराम संकलन पश्चात आगामी असोज १० गते शनिवार अडिसन कार्यक्रम सञ्चालन गरिनेछ । त्यसपछि छनोट भएका योग्य २५ जना प्रतिस्पर्धिहरुलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइने छ । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ ।
मिस ग्ल्याम वर्ल्ड नेपालबाटै तीन अन्तर्राष्ट्रिय उपाधिका लागि प्रतिनिधि छनोट गर्ने तयारी
आयोजक संस्थाले ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ आयोजनामार्फत विभिन्न उमेर समूहका प्रतियोगीलाई समेट्दै तीन वटा अन्तर्राष्ट्रिय उपाधिका लागि नेपाली प्रतिनिधि छनोट गर्ने तयारी गरिएको जनाएको छ ।
आयोजक पक्षका अनुसार एउटै राष्ट्रिय प्रतियोगिताबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ र ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’ का लागि योग्य तथा डिजर्भिङ डेलिगेट्स (प्रतिनिधि) छनोट गर्ने योजना अघि सारिएको छ ।
प्रतियोगिता सञ्चालनसम्बन्धी छलफलका क्रममा आयोजकले विभिन्न उमेर समूहका लागि छुट्टाछुट्टै प्रतियोगिता एक–दुई महिनाको अन्तरमा आयोजना गर्दा व्यवस्थापन तथा सञ्चालनमा कठिनाइ हुने भएकाले एउटै आयोजनाबाट उपयुक्त प्रतिनिधि छनोट गर्ने अवधारणा अघि सारेको जनाएको छ ।
हाल प्रस्तावित उमेर समूहमा १६ देखि ३०/३२ वर्षसम्मका प्रतियोगीलाई समेट्ने विषयमा पनि छलफल भइरहेको छ । उमेर समूह र विभिन्न उपाधिबारे जानकारी आवेदन तथा अडिसन प्रक्रियामै स्पष्ट रूपमा उल्लेख गर्ने वा प्रतियोगिताको क्रममा थप प्रस्ट पार्ने विषयमा आयोजकबीच सुझाव आदानप्रदान भइरहेको छ ।
आयोजक पक्षले अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त डाइरेक्टरसिप लेटरमा उल्लेख गरिएका आधिकारिक टाइटल तथा प्रावधानलाई समेत आधार बनाएर प्रतियोगिताको संरचना अन्तिम रूप दिने जनाएको छ।
यसैबीच भविष्यमा ‘मिस’ र ‘मिसेस’ विधाका प्रतियोगिता छुट्टाछुट्टै रूपमा वार्षिक आयोजना गर्ने योजनासमेत रहेको बताइएको छ। तर तत्कालका लागि ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ लाई केन्द्रमा राख्दै एउटै राष्ट्रिय मञ्चबाट योग्य प्रतियोगीलाई विभिन्न अन्तर्राष्ट्रिय अवसर प्रदान गर्ने तयारी भइरहेको छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व
‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजकले जनाएको छ । मिस ग्ल्याम वर्ल्ड २०२६ भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना हुने र त्यसमा नेपालबाट ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ की विजेता सहभागी हुने बताइएको छ ।
राष्ट्रिय प्रतियोगिताबाट छनोट भएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसरले विजेतालाई आफ्नो व्यक्तिगत प्रतिभा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजक संस्थाकी प्रमुख सुचिता सचीको विश्वास छ ।
‘प्रतियोगितामार्फत केवल बाह्य सौन्दर्यलाई मात्र नभई सहभागीको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली र सामाजिक चेतना लगायतका पक्षलाई समेत मूल्यांकन गरिने छ, सिआईएफटीकी प्रमुख सुचिता सचि बताउँछिन् ।
सिआईएफटीले फेसन तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने युवतीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न र भविष्यमा यस क्षेत्रमा व्यावसायिक अवसर खोज्न प्रतियोगिताले महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले आवेदन तथा अन्य आवश्यक जानकारीका लागि आयोजक प्रतिनिधि माधुरी कर्णसँग सम्पर्क गर्न सक्नेछन् ।
‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’मा सहभागिता जनाउन यो लिंकमा क्लिक गरेर आवेदन फाराम भर्न सकिने छ ।
https://forms.gle/scjqXqH9sKVmrxFz5
सम्पर्क:
फोन/ह्वाट्सएप: 9816807546, 9851161642, 01-4433471
इमेल: [email protected]






