चलचित्र ‘म मदनकृष्ण’ को छायांकन सुरु


वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’ को छायांकन सुरु भएको छ । चलचित्रको आज शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । आजबाट सुटिङ सुरु भएको चलचित्रको पाँचखाल, पनौती र काठमाडौंमा छायांकन हुनेछ । छायांकन सुरु गर्दै निर्माणपक्षले चलचित्रको रिलिज डेट पनि घोषणा गरेको छ । यो चलचित्र चैत ४ गतेबाट प्रदर्शनमा आउनेछ ।

निर्देशक मिलन चाम्सले भने, “हाम्रो चलचित्र ‘म मदनकृष्ण’ चैत ४ गतेबाट अल नेपाल प्रदर्शनमा आउनेछ।” यो पटक लिजेन्ड्री व्यक्ति रहेको र संघर्ष, सफलता र अनुभवको सिंगो पहाड नै रहेकाले ‘म मदनकृष्ण’ थप उत्कृष्ट चलचित्र बन्नेमा आफ्नो टिम ढुक्क रहेको उनले बताए ।

‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

अरुण क्षेत्री हरिवंश आचार्यको रोलमा देखिनेछन् । हरिवंश मदनकृष्णको कलाकारिताको जोडी हुन् । यो जोडीलाई मह जोडीको नाम दिइएको छ ।अरुणको अपोजिटमा वर्षा राउत देखिनेछिन् र उनले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाह लगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतम लगायतको पनि अभिनय रहनेछ ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिकलाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्