‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को पहिलो झलक सार्वजनिक, कार्तिक ६ मा रिलिज तय
बक्स अफिसमा आधी ल्याउने सफल सिरिज ‘कबड्डी’ को पाँचौँ शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को अफिसियल रिलिज मिति तय भएको छ। दशैँको आसपासमा ठुला ब्यानारका अब्बल चलचित्र रिलिजको तयारीमा रहेका बेला कबड्डीले करित्क ५ गतेलाई रिलिज मिति तय गरको छ। दशैँको टिकाको पर्सिपल्ट यो चलचित्र रिलिज हुनेछ। शुक्रबार चलचित्रको पहिलो झलक सार्वजनिक गर्दै निर्माण टिमले अफिसियल रिलिज मिति तय गरेको हो।

पोस्टरमा चलचित्रका मुख्य पात्र काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ) चारित्रिक भेषमा प्रस्तुत भएका छन् । पोस्टरमा काजी पार्कको एउटा कुर्सीमा हातमा क्रिकेट ब्याट समातेर सोचमग्न भएर बसेका छन् । उनलाई बीके र छन्त्यालले गम्भीरतापूर्वक नियालिरहेको छन्।
चौथो शृङ्खलालाई नै चलचित्रको फाइनल म्याच भनिएको थियो तर दर्शकको माग र विषयवस्तुमा पात्रहरूको कथा अधूरो रहन गएकाले त्यसलाई पूरा गर्न पाँचौं शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ निर्माण गरेको निर्देशक रामबाबु गुरुङले बताएका छन्।
चलचित्र केवल व्यावसायिक नाफा कमाउन वा ब्राण्ड बेच्न मात्र नभई विशुद्ध कथाको डिमाण्ड र पात्रहरूको अधुरो कथा पूरा गर्न बनाएको निर्माण टिमको दाबी छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा दयाहाङ, विजय, बुद्धिसँगै विपीन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी रहेको छ । सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ ।






