खेम सेन्चुरी चलचित्रमा डेव्यु गर्दै, नारायण रायमाझीको ‘बसन्ती’ मा तेरियाको जोडी बन्दै


सफल चलचित्र निर्माण र निर्देशनमा माहिर मानिएका नारायण रायमाझीले नयाँ चलचित्र ‘बसन्ती’ निर्माणको घोषणा गरेका छन्। शुक्रबार कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको छ। यो चलचित्रबाट गायक खेम सेन्चुरी नायकको रुपमा डेव्यु गर्दैछन्। उनको जोडीको रुपमा अभिनेत्री तेरिया मगर देखिदै छिन्।

२०५७ सालमा नीर शाहले ‘बसन्ती’ नाममा चलचित्र निर्देशन गरेका थिए । उक्त चलचित्र उपन्यासकार डायमण्ड समशेर राणाको उपन्यास ‘बसन्ती’ मा आधारित थियो । चलचित्र प्रदर्शनको २६ वर्षपछि सोही नाममा नारायण रायमाझीले नयाँ चलचित्र निर्माण गर्न लागेका हुन् ।। बक्स अफिसमा तीन सुपरहिट चलचित्र ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरिसकेका रायमाझीको यो चौथो निर्देशकीय चलचित्र हो। गायनमा सफल भैसकेका व्यक्तिलाई चलचित्रमा डेव्यु गराउनु उनको बिशेषता नै हो। यस अगाडी उनले प्रशान्त तामाङ्ग, प्रकाश सपुतलाई सफल चलचित्रको स्वाद चखाई सकेका छन्।

असोज ३ गतेदेखि चलचित्रको काठमाडौं सेड्युलको छायांकन सुरु गरिने निर्देशक रायमाझीले बताए । काठमाडौं, पाल्पा, जनकपुर र बुटवलसँगै भारतका विभिन्न स्थानमा चलचित्रको छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।

रिमा फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुने चलचित्रले कस्तो कथा प्रस्तुत गर्नेछ भन्ने विषय निर्माण पक्षले गोप्य राखेको छ । चलचित्रमा खेम र तेरियाको साथमा सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल, हरि अधिकारी लगायत कलाकारको अभिनय रहनेछ । निर्देशक रायमाझीले नै लगानी गर्ने चलचित्रको कथा रमेश बिजिले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्