चलचित्र ‘द राइज अफ साम्राज्य’ मा अभिनेता सुशील श्रेष्ठको इन्ट्री


निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘द राइज अफ साम्राज्य’ मा अभिनेता सुशील श्रेष्ठ जोडिएका छन् । छायांकनको अन्तिम तयारीमा रहेको चलचित्रमा निर्देशक चौधरीले सुशीललाई अनुबन्ध गरेका हुन् । यसअघि चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

निर्देशक सौरभ चौधरीले सुशीलले चलचित्रमा मुख्यमध्ये एक भूमिकामा अभिनय गर्ने जानकारी दिएका छन् । यसअघि फरक–फरक शैलीका चलचित्रमा काम गर्दै आएका सुशिलका लागि ‘द राइज अफ साम्राज्य’ को भूमिका नयाँ चुनौती बन्ने अपेक्षा गरिएको छ ।

चलचित्रको छायांकनका लागि ७० दिनको सेड्युल तयार पारिएको छ । चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ । कथा र परिवेशअनुसार आवश्यक लोकेसन छनोटको काम पनि अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक चौधरीले यसपटक आफूले यसअघि निर्माण गरेका चलचित्रभन्दा ठूलो क्यानभास र फरक स्तरको प्रस्तुति दिने योजना बनाएका छन् । निर्माण पक्षले चलचित्रलाई नेपाली चलचित्रमै ठूलो स्केलमा बन्न लागेको ‘एपिक एक्सन ड्रामा’का रूपमा प्रस्तुत गरेको छ ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन् । साहित्यिक लेखनमा छुट्टै पहिचान बनाएका बुद्धिसागरको कथा तथा पटकथामा निर्माण हुने भएकाले चलचित्रको कथावस्तुलाई लिएर पनि चासो बढेको छ ।

चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन् । विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन् । चलचित्रको छायांकन मानकृष्ण महर्जनले गर्नेछन् भने एक्सन निर्देशनको जिम्मेवारी श्री श्रेष्ठले सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्