दशैँ रिलिज: ‘आ बाट आमा २’ को ४ करोड पार तर छैन सोचे जस्तो सबैको व्यापार


यो बर्षको दशैँमा बर्षकै प्रतिक्षित मानिएका चलचित्रको बक्स अफिस टकराव रहेको थियो । तीन चलचित्र फूलपाती र यसको अघिल्लो दिन गरेर प्रदर्शनमा आएका थिए । तीनै चलचित्र सिक्वेल रहेका थिए । अघिल्लो पटक तीनै चलचित्रको पहिलो भागले बक्स अफिसमा १० करोड माथिको व्यापार गरेका थिए । यहि कारण पनि चलचित्रका व्यापारलाई लिएर दर्शक र सिनेक्षेत्रको चासो रहेको थियो ।

असोज ३० र ३१ मा रिलिज भएका तीन चलचित्रको व्यापार सोचेजस्तो देखिएको छैन । तीन चलचित्र आइतबारसम्म साढे ८ करोड माथीको व्यापार गरेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आँकडामा रहेको छ । कमाईको मामलामा चलचित्र ‘आ बाट आमा २’ अगाडी रहेको छ । ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कमाएको चलचित्रको १ लाख ३१ हजार ४९१ वटा टिकट बिक्रि भएका छन् ।

दोश्रो नम्बरमा चलचित्र ‘छ माया छपक्कै २’ रहेको छ । यो चलचित्रले २ करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । ८२ हजार ७५९ वटा टिकट चलचित्रको बिक्रि भएका छन् ।

एक्सन प्रधान चलचित्र ‘१२ गाउँ २’ यो पटक तीन चलचित्रमा कम कमाई गर्ने चलचित्रमा परेको छ । ५७ हजार ९८३ वटा टिकट बिक्रि भएको चलचित्रले १ करोड ८६ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस व्यापार गरेको छ । यसरि हेर्दा तीन वटै चलचित्रले बक्स अफिसमा सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्