कस्तो छ धिरज र जसिताको ‘ज्याकीः आई एम ट्वान्टी वान’ गीत ?


धिरज मगर र जसिता गुरुङ्ग मुख्य भूमिकामा रहेको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ को पहिलो गीत सार्वजनिक भएको छ। टिजर र फस्टलुक पोष्टर बाट दर्शकमा कौतुहलता बटुलेको चलचित्रको ‘कथा’ बोलको गीत निर्माण टीमले सार्वजनिक गरेको हो । काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टीमले गीत सार्वजनिक गरेको हो। निर्माण टीमको यो पहिलो प्रेसभेटघाट रहेको थियो। फरक शैलीमा आयोजना गरिएको कार्यक्रममा धिरज र जसिताको डान्स प्रस्तुत गरिएको थियो।

गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द, रोहित शाक्य र किरण थापाको संगीत छ । भिडियोमा मुख्य कलाकारद्धय धिरज र जसितालाई फिचरिङ गरिएको छ । उनीहरु गीतमा केही रोमान्टिक देखिएका छन् । गीतको भिडियोलाई द वाइल्ड रिपर्ज क्रुले कोरियोग्राफी गरेको हो । सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको चलचित्रलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन् । आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा छन् ।

कार्यक्रममा बोल्दै नायक धिरज मगरले आफ्नो लागि ‘ज्याकीः आई एम ट्वान्टी वान’ करिअरकै विशेष चलचित्र भएको बताए । यस्तै, नायिका जसिता गुरुङले एउटा चलचित्रका लागि ३ बर्ष समय दिएको र चलचित्रको लागि गरेको मिहिनेत संझदा खुशी लाग्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्