इराकमा ‘छक्का पन्जा ४’ प्रदर्शन हुने , पहिलोपटक पुग्यो नेपाली चलचित्र


नेपाली चलचित्र अन्तराष्ट्रिय बजारमा पुगिरहेका छन्। प्रवासमा रहेका नेपाली भाषी दर्शकका लागी स्क्रिनिङ्ग गरेर नै चलचित्र देखाउने प्रचलन बढिरहेको छ। युरोप, अमेरिका देखि मध्यपूर्वी देशमा नेपाली चलचित्र हेर्ने दर्शकको ठुलो संख्या रहेको छ। नेपाली निर्माताको लागी यो ठुलो राहातको बिषय हो।

नेपालमा ५१ औं दिनको उल्लेखनीय प्रदर्शन गर्दै २०७९ मा रिलिज भएको चलचित्र ‘छक्का पन्जा ४’ सुपरहिट बन्यो। यहि चलचित्र इराकमा प्रदर्शन हुने भएको छ। इराकमा पहिलोपटक कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आउन लागेको हो। मध्यपूर्वमा नेपाली चलचित्र वितरण गर्दै आएका रमेश ढकालले मे १२ मा इराकको कुर्दिस्तान सुलेमानी सहरमा ‘छक्कापञ्जा ४’ प्रदर्शनको तयारीमा जुटेका छन्। कुर्दिस्तान सुलेमानी सहरमा हल बुक गरेर दिनको दुई शोमा चलचित्र देखाएर प्रदर्शन थालनीको तयारी गरिएको छ।

चलचित्र प्रदर्शनको मिति संगै सेन्सरको तयारीमा वितरक टिम रहेको छ। इराकमा नेपाली समुदायको उपस्थिति त्यति ठुलो रहेको छैन तर पनि भएका नेपाली दर्शकलाई चलचित्र देखाउन ढकालले विनोद श्रेष्ठसंग सहकार्य गरेका छन्। अरबी भाषाको सबटाइटल समेत राखेर चलचित्र प्रदर्शन तयारी रहेको छ। हेमराज बिसीको निर्देशनमा तयार भएको चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमला, राज आचार्य लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्