ब्रान्ड र स्टार भ्यालु बजारमा नचल्दा कस्तो सन्देश लिन सकिएला ?


बर्ष २०८० को पहिलो महिना (बैशाख) चलचित्र बजारमा सर्वाधिक सफल हुने आंकलन गरिएको थियो। पहिलो दिन बैशाख १ मा नै ‘जारी’ को आक्रामक व्यापर भएपछी महिना भर रिलिज तयारीमा रहेका चलचित्रको टीम उत्साहित रहेको थियो। जारीले १६ करोड माथिको व्यापार गरिसकेको छ। अहिले पनि हलमा दर्शकको उपस्थिति राम्रो रहेको छ। त्यो लगत्तै रिलिज तयारीमा रहेका ‘प्रसाद २’ , ‘नाइँ न भन्नु ल ६’ र ‘ज्याकी: आईएम ट्वान्टी वान’ नेपाली बक्स अफिसमा असातित चलचित्र रहेका थिए। ब्राण्ड भ्यालु र स्टार भ्यालु दुवै बोकेका यी चलचित्रहरुको व्यापारिक उछाल कायम गर्ने आंकलन गरिएको थियो। विकास राज आचार्य निर्देशित चलचित्र ‘नाइँ न भन्नु ल ६’ लाई दर्शकले साथ दिने अपेक्षा गरिएको थियो।

एक त चलेको सिरिज अनि कलाकारको बाक्लो उपस्थतीले चलचित्रलाई दर्शकले साथ दिने अपेक्षा गरिएपनि सोचेजस्तो भएन। चलचित्रले कमजोर समिक्षा र सिरिजकै कमजोर व्यापारिक चलचित्र बन्यो । सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ अर्को अपेक्षित चलचित्र रहेको थियो। पहिलो सिरिजले पाएको सफलता र स्टार भ्यालुले भरिएको चलचित्र पनि अपेक्षाकृत बन्न सकेन। मिश्रित समिक्षा, उत्कृष्ट प्रिमियर प्रतिक्रिया बटुलेको चलचित्र बक्स अफिसमा असफल बन्यो।

रिनशा राई रानाको निर्देशनमा तयार भएको चलचित्र ‘ज्याकी: आईएम ट्वान्टी वान’ बक्स अफिसमा अर्को आशा गरिएको चलचित्र थियो। पछिल्लो पुस्ताका चर्चित कलाकार धिरज मगर र जसिता गुरुङ्गको पहिलो स्क्रिन शेयरका कारण पनि चलचित्र अपेक्षित मानिएको थियो। नेपालको पहिलो डान्स ड्रमाको रुपमा चित्रित गरिएको चलचित्रको व्यापार सन्तोषजनक रहेको छैन।

बर्ष २०७९ मा पनि दर्शकले आपन्त्वको कथा बोकेका चलचित्रलाई साथ दिए। कबड्डी ४, दुई नम्बरी ,छक्का पन्जा ४ ले कमेडी र समाजको कथालाई बोकेका थिए। ऐना झ्याल की पुतलीलाई दर्शकले आफै संग कनेक्ट गरेका थिए। जारी पनि लिम्बू समुदायको संस्कृती र मनोरन्जनात्मक हिसाबले प्रस्तुत गरिएको थियो।

चलचित्रको रिलिज र दर्शकको चासोलाई हेर्दा आफ्ना समुदाय र देखि रहेका कथालाई रुचिकर मानेको देखिन्छ। दर्शकले पर्दामा आफ्नो र आफ्नो समाजमा देखिएका र भोगेका कथालाई हेर्न रुचाई रहेका छन्। चलचित्र मेकरले अब कस्ता चलचित्र निर्माण गर्ने र कसरि पर्दामा प्रस्तुत गर्ने भन्ने बिषयमा सोचनीय हुने बेला भएको छ।

प्रतिक्रिया दिनुहोस्