हलिउड स्टारको जमघट हुने लण्डनको हलमा ‘गोर्खा वारियर’ को प्रिमियर


निर्देशक मिलन चाम्सले पहिलोपटक विश्वकै दोश्रो ठुलो थिएटर चेन आइम्याक्स सिनेवर्ल्डमानेपाली चलचित्रको प्रिमियर गर्ने भएका छन्। लन्डनको लिसेस्टर स्क्वायरमा रहेको उक्त थिएटरमा चाम्सले आफ्नो ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ को प्रिमियर गर्न लागेका हुन्। हलिउडका ठुला स्टारका चलचित्र प्रिमियर हुने हलमा चलचित्रको प्रिमियर गर्न लागेको निर्देशक चाम्सले एक पत्रकार भेटघाटमा जानकारी गराएका हुन्। १० सेप्टेम्बर अर्थात् भदौ २४ मा २ हजार बढी दर्शकको उपस्थितिमा आइम्याक्स सिनेवर्ल्डमा चलचित्रको प्रिमियर गर्न लागिएको छ।

चलचित्रको प्रिमियरका लागि बेलायती राजपरिवारका सदस्यहरु, ब्रिटेनका सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, ब्रिटिस गोर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, नेपाली दूतावास, विश्वका प्रख्यात सेलिब्रिटीहरु लगायतलाई निम्तो दिइएको निर्देशक चाम्सले मंगलबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए। चलचित्रलाई हङकङ र सिंगापुरमा समेत सेप्टेम्बर महिनामा नै प्रिमियर गर्ने तयारीमा चाम्स र उनको टीम रहेको छ।

गोर्खा सैनिकले सन् १९४९ मा भएको ‘मलाया इमरजेन्सी जंगल वार’ मा देखाएको बहादुरीको कथा मा चलचित्र निर्माण भएको छ। नेपाली, हिन्दी र अंग्रेजी भाषामा रिलिज हुने तयारीमा रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्