महिला हिंसाविरुद्ध सशक्त सन्देश बोकेको तीज गीत ‘गाउँ घरमा’ सार्वजनिक


हरितालिका तीजको अवसर पारेर नयाँ गीत ‘गाउँ घरमा’ सार्वजनिक गरिएको छ। सलिना बिके, समिरा थपलिया र श्रेया राईको स्वर रहेको गीतमा फिरोज बस्नेतको शब्द तथा संगीत रहेको छ। गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका हुन् भने चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

गीतको भिडियोमार्फत पछिल्लो समय समाजमा बढिरहेका महिला हिंसा, बलात्कार तथा छोरीहरूको असुरक्षाको विषयलाई उठान गरिएको छ। भिडियोले यस्ता घटनाले एउटी छोरीको जीवनमा पार्ने प्रभावसँगै ‘छोरी कहाँ सुरक्षित छन्?’ भन्ने गम्भीर प्रश्नसमेत गरेको छ।

भिडियोको सुरुवातमा तीन चेली नाचिरहेको दृश्य प्रस्तुत गरिएको छ। उनीहरूको जीवनमा घट्ने अप्रिय घटनालाई भिडियोको अन्त्यतिर मार्मिक ढंगले प्रस्तुत गरिएको छ। मनोरञ्जनसँगै सामाजिक सचेतनाको सन्देश दिने प्रयास भिडियोमा गरिएको छ।

अन्जान मोक्तानको कोरियोग्राफी रहेको भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका हुन्। पवन सुस्लिङ्गले छायांकन तथा सम्पादन गरेको भिडियोको प्रोजेक्ट म्यानेजर प्रवेश खत्री रहेका छन्।

प्रतिक्रिया दिनुहोस्