छायांकन सुरु गर्दै ‘हात्तीछाप’ मा बेनिशाको इन्ट्री


सिमोस सुनुवारको निर्देशनमा तयार हुने चलचित्र ‘हात्तीछाप’ को छायांकन सुरु भएको छ। आइतबार बालकुमारीस्थित एक ग्यारेजबाट चलचित्रको सुटिङ्ग सुरु भएको हो। अघिल्लो बर्षको हिट चलचित्र ‘दुई नम्बरी’ को स्टारकाष्टलाई लिएर निर्माण हुने चलचित्रमा नायिका बेनिशा हमालको प्रवेश भएको छ।

बेनिशा र निर्देशक सुनुवारले चलचित्र ‘झ्यानाकुटी’ मा सहकार्य गरेका थिए। चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे लगायतको अभिनय रहनेछ ।

१५ दिन काठमाडौं र १५ दिन पोखरा आसपासमा छायांकन हुने चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहेको छ । रेड बर्ड प्रोडक्सनले निर्माण गर्न लागेको चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली रहेका छन्। उनी चलचित्र ‘दुई नम्बरी’ का प्रस्तुतकर्ता समेत हुन्। साउन महिनामा सुटिङ्ग सम्पन्न गरेर तिहारको समयमा चलचित्र रिलिज गर्ने सोचमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्