जेभियर कलेजमा विद्यार्थीसंग ‘जय हो’ टिम


आगामी भदौ ८ मा देशैभर प्रदर्शन हुन लागेको चलचित्र ‘जय हो’ले सोमबार कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा प्रचारप्रसार गरेको छ । चलचित्रका प्रमुख कलाकार केकी अधिकारी, सलोन बस्नेत र प्रस्तुतकर्ता शोभित बस्नेत लगायतको टोली कलेज पुगेर विद्यार्थीमाझ प्रचारप्रसार गरेका हुन् ।


कार्यक्रममा केकी र सलोनले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको पहिलो दिनको अवसरमा नयाँ शैक्षिक यात्राको शुभकामना दिँदै भविष्यलाई अझ उज्जवल बनाउन कामना गरे । उनीहरुले आफूहरुको चलचित्रले दर्शकलाई नयाँ सन्देश दिने भन्दै चलचित्र हेरिदिन आग्रह गरेका थिए ।


चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले शिक्षाका लागि परिचित जेभियरमा पुगेर चलचित्रको प्रचारप्रसार गर्न पाउँदा खुशी लागेको बताए । यो कलेजमा यस वर्ष कलेजकै इतिहासमा सर्वाधिक १५ सय विद्यार्थी कक्षा ११ मा भर्ना भएका छन् । जसमा ७ विद्यार्थीले जीपीए ४ ल्याएका छन् ।
चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत र अर्पण थापा, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ र सुशान्त श्रेष्ठको अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजीत बास्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रको निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।

प्रतिक्रिया दिनुहोस्