‘परदेशी २’ हेर्न मन्त्रीदेखि सांसदसम्म, केकी भन्छिन्,’मेरो लागी यो बर्ष दुइवटा दशैँ ‘


सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’को विशेष शो आयोजना गरिएको छ । बुधवार बेलुका वानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित विशेष शोमा मन्त्री, सांसददेखि चलचित्रकर्मी, संगीतकर्मी एवं विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी रहे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम, नेकपा एमालेका सांसद ठाकुर गैरेलगायतले हलमा पुगेर २ घण्टा २० मिनेट लामो चलचित्र ध्यानपूर्वक हेरे । हलबाट निस्किँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले चलचित्रले मन छोएको बताए ।

‘चलचित्र नेपाली समाज र नेपाली संस्कृतिको बेजोड प्रस्तुति भएको अनुभूति गरे’ उनले भने । उनले चलचित्र सन्देशमूलक रहेको भन्दै दर्शकलाई पनि हेर्न आग्रह समेत गरे । एकीकृत समाजवादीकी नेतृ झाँक्रीले आफूले देखेका कुरालाई नै चलचित्रले उठान गरेकाले आफूलाई छोएको बताइन् । ‘मलाई कथाले एकदमै छोयो । कथावस्तु, प्रस्तुति, अभिनय सबै राम्रो छ’ उनले भनिन् ‘चलचित्रमार्फत धेरै ठूलो सन्देश समेत दिनुभएको छ ।’ उनले चलचित्रको सिंगो टिमलाई बधाई एवं धन्यवाद समेत दिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले चलचित्र अत्यन्तै राम्रो बनेको भन्दै खुशी लागेको बताइन् । ‘समग्रमा चलचित्र अत्यन्तै राम्रो बनेको रहेछ । यसले नेपाली समाजको विशेष गरी लोक संस्कृतिको पनि राम्रो जागरण गरेको रहेछ । मलाई अत्यन्तै धेरै खुशी लाग्यो’ – गौतमले भनिन् । उनले चलचित्र हेरिरहँदा खुशी खोज्ने चाहानाले विदेशिएका आफ्ना साथीहरुलाई धेरै सम्झिएको समेत बताइन् । चलचित्र समाजको यथार्थ चित्रण भएको प्रतिक्रिया उनले दिइन् । एमालेका सांसद गैरेले चलचित्रले आमाबुवाको देशप्रतिको आशा के हो ? आफ्नो समाजप्रतिको अपेक्षा के हो ? बुवाआमाप्रति छोराछोरीको दायित्व के हो भन्ने कुरालाई चलचित्रले जिवन्त दंगले उजागर गरेको बताए । ‘बुवाआमा र सन्तानबीचको माया, विदेशमा बस्नेहरुले कस्तो जीन्दगी भोगिरहेका छन् भन्ने कुरालाई समेत चलचित्रले देखाएको छ’ उनले भने, ‘हाम्रो नेपाली समाज, संस्कृति, मूल्यमान्यतादेखि देश विकासको जनअपेक्षा समेत चलचित्रले बुलन्द गरेको छ ।’

निर्माता एवं निर्देशक अशोक शर्माले चलचित्रको कथा बलियो रहेको बताए । विशेष शोमा निर्देशक नारायण रायमाझी, निर्माता राजेश वंशल, अभिनेत्री केकी अधिकारी लगायत चलचित्रको टिम उपस्थित थिए । अभिनेत्री अधिकारीले यसपटक आफूलाई दुईवटा दशैं आएको आभास भएको बताइन् । ‘एउटा दशैं त छँदै थियो । परदेशीले अर्को दशैं पनि थपिदियो’ उनले भनिन् । निर्माता वंशलले दर्शकबाट पाएको माया आफूहरुको लागि सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । माउथ पब्लिसिटी राम्रो भएका कारण चलचित्र अझै लामो समय जाने विश्वास उनले व्यक्त गरे । असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र शुक्रवारबाट चौथो सातामा प्रवेश गर्दैछ । चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, रमा थपलिया, प्रशान्त तामाङ, दिलीप रायमाझीलगायतको अभिनय छ । रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रले विदेशमा समेत आफ्नो प्रदर्शन आरम्भ गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्