चलचित्र ‘दुई कदम’ हङकङमा प्रदर्शन हुदै


मंसिर २९ गतेबाट नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘दुई कदम’ हङकङमा प्रदर्शन हुने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी ३१ डिसेम्बर अर्थात् पौष १५ गते हङकङमा प्रिमियर गर्न लागिएको हो । चलचित्रको प्रिमियरमा सहभागी हुन मुख्य कलाकार डेव्यु अभिनेता इओन लिम्बु हङकङ पुगेका छन् । चलचित्रको त्यहाँ शोको आयोजना गंगा लिम्बुले गरेकी हुन् । जिएच वाम्पोअ सिनेमामा दुई कदमको शोको आयोजना गरिएको हो ।

उदय सुब्बा निर्देशित चलचित्रमा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ । चलचित्रको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् ।

अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बु र गंगा लिम्बुको लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको चलचित्रको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्