के बिशाललाई रिमा र केकीको ब्राण्ड भ्यालुमा विश्वास नलागेको हो ?


निर्देशक बिशाल भण्डारी, अभिनेत्री केकी अधिकारी र कार्यक्रम संचालक तथा अभिनेत्री रिमा विश्वकर्माको मित्रता रोचक छ। व्यक्तिगत देखि व्यवसायिक जीवनका हरेक उतारचढावमा यी तीन संगै रहेका छन्। अझ रिमा र बिशाल त टेलिभिजन देखिका साथी। केकी र रिमा पहिलो चलचित्र देखि नै अहिलेसम्म नजिकका मित्र। केकी र बिशालले मिलेर चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को निर्माण गरे। रिमाले जीवनको सबैभन्दा कष्टकर समयमा यो चलचित्रको गीतमा आएर कम्मर मर्काईन्। यो भन्दा यी तीनको मित्रताको दरिलो उदाहरण अरु के हुन् सक्ला र ?

यी तीनजना मिलेर नेपालमा नयाँ प्रकारको रियालिटी शोको परिकल्पना गरे। नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को परिकल्पना गरे। विशाल भण्डारी निर्देशक , केकी अधिकारी कार्यकारी निर्माता र रिमा विश्वकर्मा होस्ट रहेर कार्यक्रमको सुरुवात गरे। सोले राम्रो दर्शक पायो तर सोचे जस्तो स्पोन्सर र आर्थिक पाटो पहिलो सिजनमा मिलेन। कति सम्म भनिन्छ भने बीचमा एकपटक शो नै बन्द गर्ने स्थिति पुगेको थियो आर्थिक अवस्थाको कारण। तर हिम्मत नहारेका यी तीनले यो रियालिटी शोको दोश्रो सिजन पनि सम्पन्न गरिसकेका छन्।

तेश्रो सिजन सम्म पुग्दा त यो शो नाफामा दौडन थालिसकेको छ। निर्माताको लर्को रहेको छ यतिबेला । कार्यकारी निर्मातामा भने केकी संगै रिमा विश्वकर्मा थपिएकी छिन्। रिमा यतिबेला नेपाल आइडलको सुटमा व्यस्त रहेकी छिन् । दुईवटा रियालिटी शोलाई समय दिनुपर्ने प्रेसर उनलाई रहेको छ। कार्यकारी निर्माता भएको कारण केकीको प्रत्यक्ष उपस्थिति नभए पनि हुन्छ। उनी पोयट आइडलको जजको रुपमा अनुबन्ध भएकी छिन् भने आफ्नै निर्माणमा तयार पारेको ‘बोक्सीको घर’ को पोष्ट प्रोडक्सनमा उनी व्यस्त रहेकी छिन्। सायद यिनै कारण हुन् सक्छन् रिमा र केकी दुवै कमेडी च्याम्पियनको सिजन ३ को घोषणा कार्यक्रममा उपस्थित रहेका थिएनन्। मुख्य निर्णायक मनोज गजुरेल र ऋचा शर्मा पनि उपस्थित थिएनन्। रिमा नेपाल आइडलको लागि व्यस्त रहेकी छिन् अव दुई जज उपस्थित नभए पनि ठिकै छ तर केकी उपस्थित नहुँदा प्रश्न आउने भैहाल्यो।

निर्देशक भण्डारीलाई केकीसंग सम्बन्ध चिसिएको पो हो कि भनेर प्रश्न गरियो। बिशालको जवाफ भने यो पटक अर्कै सुनियो। उनको जबाफको आसय रिमा र केकीलाई सुरुवाती दुई सिजनमा सेलिब्रेटी भ्यालुको हिसाब बेच्न रखिएको फेस जस्तो सुनियो।
बिशालले ,’ हामीलाई पहिलो सिजनमा ब्राण्ड भएको फेस भ्यालु देखाउनु थियो । त्यसको लागी केकी, रिमा जी हरु हुनुहुन्थ्यो। अहिले हाम्रा कमेडियन र हामी नै उपस्थित हुँदा त्यो भ्यालु पुगेको छ। ‘ यसको सिधा अर्थ केकीको ब्राण्ड भ्यालु भन्दा उनको कमेडियन टिमको भ्यालु बढी भएको अर्थ लाग्यो। बिशालले हिसाबकिताब गर्ने बेला रिमा र केकीसंगै हुने जवाफ दिएर तिनै जना एकैठाउ भएको आभाष गराउन भने छाडेनन्।

अब थ्री प्रोडक्सनको सुरुवात गर्ने यी तीन र तीनजनाका सपना पुरा गर्न संगै त हुनैपर्यो।

प्रतिक्रिया दिनुहोस्