हलमा दुई नेपाली चलचित्र: दोश्रो पटक दया भर्सेस दया


२०८० सालको चलचित्र यात्रा नेपाली चलचित्र क्षेत्रका लागी सुखद बन्यो। यो बर्षको सर्वाधिक कमाई गर्ने चलचित्र ‘जारी’ पहिलो दिन रिलिज भयो। सुपरहिट यात्रा सुरुवात भएको पहिलो दिन नै अहिलेका सुपरस्टार नायक दयाहाङ राइका दुई ल्चचित्र एकसाथ रिलिज भएका थिए। जारी बम्पर बन्दा बिहे पास औसत बनेको थियो। बर्षको अन्त्य तिर पुग्न लाग्दा हलमा फेरी दयाका दुई चलचित्र रिलिज भएका छन् । माघ २६ गते शुक्रबारबाट दयाका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएका छन्।

गुरुङ्ग समुदायका निसन्तान श्रीमान-श्रीमतीको कथा बोलेको दयारानी अर्ग्यानिक कथामा छ। माझिएका लेखक तथा कलाकार उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्रमा दयाको साथमा दिया पुन, पुष्कर गुरुङ्ग, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ। यो चलचित्रले प्रिमियरमा आकर्षक प्रतिक्रिया बटुलेको छ। गुरुङ्ग परिवेशको कथा भएको कारण यो चलचित्रको व्यापार यात्रा जारीको जस्तै सुरुवात हुने अपेक्षा गरिएको छ। लिम्बु संस्कृतिको कथा बोकेको जारी पनि आक्रामक इनिसियल र माउथ पब्लिसिटीका कारण सुपरहिट बनेको थियो।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘हात्तीछाप’ मल्टिस्टारर रहेको छ। कमर्सियल प्याकेजले भरिएको चलचित्रमा दयाको साथमा सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ्ग, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ। प्रिमियरमा यो चलचित्रले पनि सकारात्मक प्रतिक्रिया पाएको थियो । किरण नेपाली चलचित्रको प्रस्तुतकर्ता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्