‘अगत्स्य’ को कस्तो छ सुरुवात? , दर्शकको प्रतिक्रियाले दंग छ टिम


शुक्रबार बाट रिलिजमा आएको चलचित्र ‘अगस्त्य च्याप्टर १’ले प्रदर्शनको पहिलो दिनबाट नै दर्शकको साथ पाईरहेको छ।
फस्टलुक, टिजर र ट्रेलर सार्वजनिक भएदेखि नै सबैको ध्यान केन्द्रित गर्न सफल भएको ‘अगस्त्य’ ले रिलिज भएसँगै दर्शकलाई चासो सँगै थप कौतुहलता पनि बढाइदिएको छ ।

देशभरका १ सय ११ हलमा रिलिजमा आएको चलचित्रको शुक्रबार देशभरका हलमा ४५ प्रतिशत अकुपेन्सी देखिएको थियो । यस्तै, रिलिजको दोस्रो दिन देशभरका हलमा करिब ८५ प्रतिशत अकुपेन्सी लिन सफल भएको थियो भने, दर्शकहरू उच्च चाप रहेको देख्न सकिन्छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकबाट मिलेको सर्वत्र तारिफ र सकारात्मक प्रतिक्रियाबाट भोलीका दिनलाई थप बलियो ‘वर्ड अफ माउथ’को साथ पाएको छ ।

आम दर्शक, फिल्मकर्मी र प्रदर्शकले समेत आशा गरेको यो चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरीको मुख्य अभिनय छ । २ घण्टा ५० मिनेट लामो रहेको यो चलचित्र हेरेपछि अधिकांश दर्शकले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरेका छन् ।

दर्शकबाट पाएको उत्सपूर्वक प्रतिक्रियाले चलचित्रका मुख्य कलाकारहरू सौगात मल्ल, नाजिर हुसेन र मलिका महतले काठमाडौँका विभिन्न हलहरूमा पुगेर साक्षात्कार गरेका थिए । कलाकारहरू जुन जुन हलमा उपस्थित भएका थिए दर्शकहरूले अभिनय, एक्सन, कलाकारले गरेको मेहनत र चलचित्रले दिएको सरप्राइज सस्पेन्सले दंग रहेको जानकारी गराउँथे ।
दर्शकलाई यो चलचित्रमा सौगात मल्ल र नाजिर हुसेनको कामले प्रभावित बनाएको देख्न सकिन्छ । विशेष गरी, चलचित्रका लागि निकै नै मिहिनेत गरेका सौगात एक्सन अवतार र मानसिक सन्तुलन गुमेको चरित्रमा प्रस्तुत छन् । उनले गरेको भूमिका लामो समयसम्म दर्शकको दिमागमा बस्ने अनुमान लगाउन सकिन्छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्