केकीले सार्वजनिक गरिन् ‘बोक्सीको घर’ को बोक्सी लुक्स


आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो ।
उक्त लुक्सलाई चलचित्रकी प्रस्तुतकर्ता तथा अभिनेत्री केकी अधिकारी र पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरे । ‘बाेक्सी लुक्स’ मा केकीलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ ।


प्रस्तुतकर्ता तथा अभिनेत्री केकीले यसअघि सार्वजनिक टिजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’लाई फागु पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको बताइन् । ‘टिजर र गीतमा सस्पेन्सका रुपमा राखिएको बोक्सी लुक्सलाई प्रचार प्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौं’, उनले भनिन् ।
चलचित्रको टिजर र सार्वजनिक गीत ‘जिन्दगीको कथा, यता न उता’ले राम्रै चर्चा पाइरहेको छ । यहि परिप्रेक्ष्यमा सार्वजनिक ‘बोक्सी लुक्स’ले अझ बढी चर्चा पाउनेमा केकी विश्वस्त छिन् ।

लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दाेबल्दाे सामाजिक विषयवस्तुमा चलचित्र बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा बद्रि अधिकारीको निर्माण र सुलक्षण भारतीको लेखन तथा निर्देशन छ ।


अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् ।
चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्