नेपालसंगै अमेरिका र अष्ट्रेलियामा एकसाथ रिलिज हुँदै ‘डिग्री माइला’


रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि एकसाथ प्रदर्शन हुने भएको छ।

निर्माण पक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै चलचित्र चैत्र ३० मा एकसाथ तीन देशमा प्रदर्शन हुने जानकारी दिएको छ । यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले चलचित्र रिलिज गर्दैछ । अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा चलचित्र रिलिज हुनेछ ।

अष्ट्रेलियामा buyonlineticket.com.au बाट चलचित्रको टिकट काट्न सकिनेछ । यसैगरी अमेरिकाका ४० बढि शहरमा करिब ४ सय शोहरु एकसाथ चलचित्र प्रदर्शन हुने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रको ट्रेलरले दर्शकको मन जितिरहेको छ। ट्रेलरमा समावेश दयाहाङ राईको चरित्र र संवादले दर्शकलाई आकर्षित गरिरहेको छ। यो चलचित्रमा दयाको जोडी अभिनेत्री आंचल शर्मासंग बाँधिएको छ ।

दया र आँचलसँगै विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका रहेको छ । मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा बोल्ने चलचित्रलाई बाँसुरी फिम्ल्सले निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्