बक्स अफिसमा आक्रामक केकीको ‘बोक्सीको घर’ व्यापार


केकी अधिकारी फिल्म्सको प्रस्तुतीमा तयार भएको चलचित्र ‘बोक्सीको घर’ ले विकेन्ड मा आक्रामक व्यापार गरेको छ । शुक्रबार र शनिबार चलचित्रले २ करोड ३० लाखको ग्रस कलेक्सन गरेको छ। दुई दिनको कमाइबाट नै चलचित्रले आफ्नो लगानी सुरक्षितको बाटो खुल्ला गरेको छ। चलचित्रले २५० शो पाएकोमा शनिबार १५० शो हाउसफुल भएको र बाँकी शो मा ८० प्रतिशतमाथिको अकुपन्सी रहेको थियो। शुक्रबारबाट नै चलचित्रले आक्रामक सुरुवात गर्न सुरुवात गरेको थियो । शुक्रबारको रफ्तारलाई हेरेर शनिबार मल्टिप्लेक्सले चलचित्रलाई शो बढाएका थिए।

नोट: यो शुक्रबार र शनिबार गरेको व्यापारिक आंकडा हो ।

शुक्रबार उपत्यकाबाट ४३ लाख र उपत्यका बहिराबाट ३७ लाखको व्यापार गर्न सफल भएको थियो । त्यस्तै शनिबार उपत्यका भित्र र बाहिर दुवै तर्फ ७५-७५ लाखको व्यापार गर्न सफल भएको थियो । आइतबार पनि चलचित्रको व्यापारमा खासै कमी आएको छैन।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रको सबल पक्ष कलाकारको अभिनयलाई लिईएको छ । बाल कलाकार देखि केकी अधिकारीसम्मको अभिनय कौशल दर्शकले रुचाएका छन्। फरक कथावस्तुमा निर्माण भएको चलचित्रको यो सफलताले चलचित्र निर्माणमा नयाँ प्रस्तुतीको सोचमा रहेका मेकरलाई हौसला मिल्नेछ। बद्रि अधिकारी निर्माता, राज घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्