अमेरिकामा अनमोल र आंचल उत्कृष्ट नायक- नायिका, पपुलर अवार्ड प्रदिप र केकीलाई
अनमोल केसी र आंचल शर्माले अमेरिकाको क्यालिफोर्नियामा आयोजना भएको ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ मा उत्कृष्ट नायक र नायिकाको रुपमा अवार्ड जितेका छन्। अनमोलले चलचित्र ‘फर्की फर्की’ बाट अवार्ड प्राप्त गरे भने आंचलले ‘डिग्री माइला’ बाट नायिकाको अवार्ड हात पारिन्।

वि.सं २०८० साल साउन १ गतेबाट वि.सं २०८१ साल असार मसान्त सम्म रिलिजमा आएका चलचित्रहरूलाई समावेश गरेर यो अवार्डको आयोजना गरिएको हो । नायक प्रदीप खड्का र नायिका केकी अधिकारीलाई ‘पपुलर अभिनेता र अभिनेत्री’को अवार्ड प्रदान गरियो । उक्त अवसरमा नेपाली चलचित्र क्षेत्रका एक्सन स्टार नायक शिव श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ ।

दिनेश राउतले सर्वोत्कृष्ट निर्देशक’को अवार्ड जिते भने ‘पुजार सार्की’ सर्वोत्कृष्ट चलचित्र बन्यो। दीपेन्द्र लामाले ‘नाङ्गो गाउँ ’बाट ‘सर्वोत्कृष्ट लेखन’, यही चलचित्रबाट आलोक शुक्लाले ‘सर्वोत्कृष्ट छायांकार’, चलचित्र ‘उपहार’ बाट मित्र डी गुरुङले ‘सर्वोत्कृष्ट सम्पादक’, चलचित्र ‘अगस्त्य’ बाट प्रमोद अग्रहरिले‘सर्वोत्कृष्ट सह–अभिनेता, सर्वोत्कृष्ट सहअभिनेत्री वर्षा शिवाकोटीले ‘परदेशी २’ बाट अवार्ड प्राप्त गरे ।

‘जुरी अवार्ड’ ‘बोक्सीको घर’, ‘नाङ्गो गाउँ’ बाट एसडी योगीले ‘सर्वोत्कृष्ट पार्श्व गायक’ , ‘बोक्सीको घर’ बाट समीक्षा अधिकारीले ‘उत्कृष्ट पार्श्व गायिका’को अवार्ड जितिन् भने ‘क्रिटिक्स अवार्ड’ चलचित्र ‘गाउँ आएको बाटो’ले जितेको छ । हिमालय फाउन्डेसन कर्प अनि गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको प्रमुख आयोजनामा सम्पन्न भएको अवार्डमा दर्जन बढी सेलिब्रेटी अमेरिका पुगेका थिए।

यो अवार्डमा सहभागी हुन भुवन केसी, शिव श्रेष्ठ, अनमोल केसी, जितु नेपाल, केदार घिमिरे, निर्देशक दीपाश्री निरौला, नायिका केकी अधिकारी, आँचल शर्मा, नीति शाह, कलाकार सुनिल थापा, रीमा विश्वकर्मा लगायत अमेरिका पुगेका थिए ।