जिन्दगीको उत्तरार्धमा महसुस गर्ने सत्य ‘के घर के डेरा : घर नं २’ को कथा


जेठ २ गतेबाट चलचित्र ‘के घर के डेरा : घर नं २’ रिलिज हुँदैछ। यो चलचित्रको टिजर केहि दिन अगाडी सार्वजनिक भएको थियो। सार्वजनिक टिजरलाई लिएर दर्शकको उत्साहजनक प्रतिक्रिया रहेको छ। साहित्यिक भाव मिसाएर जीवनको यथार्थतालाई नजिकबाट टिजरमा प्रस्तुत गर्ने कोसिस गरिएको छ। हरेक व्यक्तिको जीवनलाइ सत्य नजिक हुने तथ्यलाई टिजरका डाइलगमा प्रस्तुत गरिएको छ।

पृथ्वी नै डेरा हो,
सबैले भाडा तिर्नु छ
मान्छे आफैँ पाहुना,
भोलि घर फर्किनु छ
तेरो–मेरो के कुरा,
के घर, के डेरा… ।

माथि उल्लेखित पंक्ति चलचित्रको टिजरमा समावेश गरिएको छ। यसले पृथ्वी नै डेरा भएको तथ्यलाई उजागर गर्दै तेरो मेरो भनेर भन्नु नै वास्तवमा बेकार भएको भाव प्रस्तुत गर्न खोजिएको छ। जति नै तेरो मेरो गरे पनि अन्तिममा पुग्ने घाट नै हो र हुने धुँवा नै हुने हो भन्ने सत्यलाई मानिसले स्वीकार गर्नुपर्ने टिजरले बताएको छ। यी र यस्तै डाइलगले ‘के घर के डेरा : घर नं २’ ले आम जनजीवनको सत्यनजिक रहेर कथा भन्ने प्रष्ट भइसकेको छ । जति नै अमिर भए पनि नांगै जानु पर्ने सत्य, जीवनको उत्तरार्धमा एक्लै हुनुपर्ने यथार्थलाई चिताको धुँवा नजिकै बसेर धुँवा हरिरहेको दृश्य र संवादले जीवनको अन्त्यतिर वा दुःखमा मात्रै महसुस गर्ने गरेको सत्यलाई ‘के घर के डेरा : घर नं २’ ले भन्ने अनुमान लगाउन सकिन्छ ।

साहित्यकार बुद्धिसागरले लेखेको कारण पनि चलचित्रका डाइलग साहित्यिक र समाज भित्रका यथार्थ प्रस्ट्याउने हुने पक्का देखिन्छ। चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायत कलाकारको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माता रहेको चलचित्रको कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्