आमाहरुलाई समर्पित ‘महाभोज’ को भिडियोमा दया र बसुन्धरा


जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ को आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राई र वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालको सशक्त अभिनय देख्न सकिन्छ । भिडियोमा भुसालले दिवङ्गत छोराको सम्झना गर्दै भावुक अभिव्यक्ति दिन्छिन् भने, दयाहाङले भुसाललाई आफ्नै आमाजस्तै माया गर्ने भाव प्रस्तुत गरेका छन् । दृश्यमा वसुन्धराले दयालाई केही रकम दिन्छिन्, जसलाई दयाहाङले हल्काफुल्का शैलीमा गर्दै ‘खाइदिन्छु’ भन्छन् । त्यसपछि वसुन्धराले उनलाई इमानदार भएको भन्दै विश्वास प्रकट गर्छिन् । भिडियो अनुसार, उक्त रकम सहकारी संस्थामा जम्मा गर्न दिइएको बुझिन्छ ।

चलचित्र ‘महाभोज’को टिजरमा पनि दयाहाङ सहकारीका अध्यक्षको भूमिकामा देखिएका थिए, जहाँ उनले बचतकर्ताहरूको आक्रोशको सामना गरिरहेका छन् ।

भिडियोमा लेखिएको सन्देशमा भनिएको छ, “सम्पूर्ण आमाहरूको सम्मानमा, चलचित्र ‘महाभोज’ परिवारको तर्फबाट आमाको मुख हेर्ने विशेष अवसर (मातातीर्थ औँसी) को हार्दिक मङ्गलमय शुभकामना। अटल माया, अविच्छिन्न समर्पण र अनन्त प्रेरणाका प्रतीक सम्पूर्ण आमाहरूलाई हाम्रो श्रद्धा र नमन ।”

नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । निर्देशकका अनुसार, चलचित्र पात्रहरूको आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा केन्द्रित छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्