‘ऊनको स्वीटर’ को सिक्वेल ‘कलेजी – ऊनको स्वीटर’ को छायाङ्कन सुरु
गएको बर्ष रिलिज भएको हिट चलचित्र ‘ऊनको स्वीटर’ को सिक्वेल ‘कलेजी – ऊनको स्वीटर’को छायाङ्कन सुरु भएको छ। सिक्किमको युमथाङ उपत्यकाबाट चलचित्रको छायाङ्कन सुरु भएको निर्देशक नवीन चौहानले जानकारी दिएका छन् । सोमबार सुरु भएको छायाङ्कनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको उनले बताएका छन्।

छायाङ्कनको शुभारम्भ अवसरमा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति रहेको थियो।
‘ऊनको स्वीटर’ले दर्शकको मनमा छोडेका कथा, पात्र र अनुभूतिलाई अझ फराकिलो संसारमा जोड्ने प्रयासका रूपमा ‘कलेजी – ऊनको स्वीटर’ निर्माण गर्न लागिएको निर्देशक चौहानले बताएका छन्। उनका अनुसार काफ्ले, फूल, डम्बर र ईक्क्षाका कथासँगै नयाँ चलचित्रले प्रेम, जीवन र मानवीय संवेदनाका थप आयामलाई प्रस्तुत गर्नेछ।

“केही कथा बाँकी छन्, केही अनुभूति अझै भन्न बाँकी छन्,” निर्देशक चौहानले भनेका छन्।
नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायाङ्कन गर्ने योजनासहित अघि बढेको चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्दैछन्। आर्टमाण्डुको व्यानरमा निर्माण हुने चलचित्रमा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई, रुश्मा राईलगायतका कलाकारको अभिनय रहनेछ।








