अभिनय छाडेर निर्देशनमा किन होमिए मनिष राउत ?
मनिष राउतलाई दर्शकले ‘प्रेम गीत ३’ अभिनेताको रुपमा चिन्छन्। प्रदिप खड्कासंगै मुख्य भूमिकामा देखिएका उनको कामलाइ दर्शकले रुचाएका थिए। उनै मनिष यतिबेला चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को काममा व्यस्त रहेका छन्। भदौ ६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा उनी कलाकारको रुपमा नभई चलचित्रको एसोसिएट निर्देशकको रुपमा रहेका छन्।
यो चलचित्रमा उनले अभिनेताको रुपमा काम गरेका छैनन्। यो पटक पर्दा पछाडीको टेक्निकल काममा उनले आफुलाई राखेका छन्। चलचित्र नै अध्ययन गरेका उनले किन अभिनय गरेनन् ?

“निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त गरेँ, अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाउँ भन्ने हो । अभिनय र निर्देशन सँगैसँगै अगाडि बढाउँदा थप हसज हुन्छ कि भन्ने मेरो सोच हो,” मनिष भन्छन्, “म पूरै निर्देशक त होइन । तर, निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ ।” मन मिल्ने टिम र राम्रो कथा भएकाले मेहनत गरेर काम गरौँ भन्ने उद्देश्यले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा फरक डिपार्टमेन्टमा काम गरेको उनले प्रष्ट पारे ।
हरेक अभिनेताको चाह निर्देशन पनि हुने गरेको दृष्टान्त दिँदै उनी अभिनय र निर्देशनलाई सकेसम्म सँगै अगाडि बढाउन चाहेको बताए । आगामी दिनमा आफूलाई दर्शकले अभिनयमा देख्नसक्ने उनले जानकारी दिए ।
चलचित्रमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् ।